
भारत । भारतकाे कानपुरमा ६ हजार रुपैयाँकाे लागि आफ्नाे श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ परेकी छन् ।
कानपुरकाे सुराैली गाउँमा ६ हजार रुपैयाँकाे विवादमा आफ्नाे श्रीमान उमेशकाे हत्या गरेकाे माेनिकाले प्रहरीसमक्ष स्वीकार गरेपछि सिंगाे गाउँ स्तब्ध बनेकाे छ ।
परिवारले उमेशकाे खाेजी गर्न प्रहरीसमक्ष आग्रह गरेपछि महिला हवल्दारले मोनिकालाई उमेशको बारेमा सोध्दा उनले हत्या गरेको स्वीकार गरी आफू सुतेकाे खाटतर्फ इशारा गरेकी थिइन् ।
श्रीमानको हत्या गरी शव कोठामा गाडेपछि त्यसमाथि उनले खाट लगाएकी थिइन् । त्यसपछि रातभर उनी त्यहीँ सुतेकी थिइन् ।
प्रहरीले जमिन खनेर शव निकालेको थियो ।
मोनिकाको पति उमेशसँग बारम्बार झगडा हुने गरेको आमा शिवदेवीले प्रहरीलाई बताएकी छन् । उमेशकाे चार दाजुभाइ छन् । उनीहरु सुराैली गाउँमा अलग-अलग घरमा बस्छन् ।
गएकाे मंगलबार उनीहरुबीच साँझ ६ हजार रुपैयाँका लागि विवाद भएको थियो । उमेशले एउटा भैँसी बेचेका थिए । जसकाे ६ हजार रुपैयाँ माेनिकासँग थियाे । त्यही पैसामा विवाद बढेकाे थियाे ।
मोनिका र उमेशका दुई छोराछोरी गाउँकै प्राथमिक विद्यालयमा पढ्छन् । दुवै जनालाई बुधबार बिहान १० बजे मोनिकाले विद्यालय पठाइन् ।
दिउँसो उमेश सुतिरहेका बेला भाँडोले घाँटी थिचेर हत्या गरिन् । त्यसपछि शवलाई कोठामै गाडिन् । घटनामा मोनिकासहित अरु कोही संलग्न हुन सक्ने प्रहरीको आशंका छ ।
प्रहरीलाई खबर गर्दा पनि मोनिकाले गेट नखोल्दा प्रहरी छिमेकीको घरबाट भित्र पसेका थिए । महिला हवल्दारले मोनिकालाई सोधपुछ गरेपछि उनले हत्या गरेको स्वीकार गरेकी थिइन् । उनले हत्या स्वीकार गरेपछि आफन्तले आक्रोश पोखे र मोनिकालाई कुटपिट गरे । प्रहरीले उनलाई त्यहाँबाट बचाएर लगेकाे थियाे ।