गुल्मीमा सुन्तलाजात बगैंचा व्यवस्थापन सम्बन्धी स्थलगत तालिम प्रदान

  • मदन कुमार क्षेत्री
  • गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका १ नयाँगाउँमा फलफूल बगैंचा सम्बन्धी स्थलगत तालिम प्रदान गरिएको छ । धुर्कोट गाउँपालिका १ नयाँगाउँ खालमा सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण गर्न तालिम प्रदान गरिएको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, गुल्मीको आयोजनामा गरिएको उक्त कार्यक्रममा विभिन्न कृषि फार्म, समुह, सहकारीका गरि ३८ जना कृषकलाई स्थलगत तालिम दिइएको थियो ।

    सुन्तला जात फलफुलको बगैचामा पुगि सुन्तलाका सुकेका, मरेका, चोर हागा काटछाट गर्ने, सुन्तलाको फेद वरिपरि खनेर मलजल गर्ने, सुन्तलालाई ढुसि नाषक रोगबाट बचाउनको लागि बोर्डोपेस्टको प्रयोग गर्ने, बोर्डो मिश्रण प्रयोग गर्ने, केही समय पछि सुक्ष्म तत्व प्रयोग गर्ने, सुन्तलाको आयु बढाउनको लागि फेदमा तिनपाते बिरुवा रोप्ने र नेचुकी गर्ने, आगामी दिनहरुमा बिजु सुन्तला नलागाइ कलमी सुन्तला लगाउन सिकाइएको थियो ।

    तालिमको क्रममा उपस्थित केही किसानले आफ्ना समस्या राखेका थिए । बोट पहेँलो हुनु,बोक्रा फुट्नी, रातो कमिलाले सताउने ,फल झर्ने, फल्ने बोटमा सेतो ढुशी लाग्नु, दाना सानो हुनु, फेद कुहिने जस्ता समस्या देखीएको बताएका थिए । तालिमकै क्रममा उक्त समस्याको समाधान गर्ने उपाय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गंगा कुमारी पोखरेलले सिकाउनु भएको थियो ।

    तालिममा उपस्थित कृषकहरुले बोर्डोपेस्ट बनाउने तरिका लगायत सुन्तलाजात बगैंचा व्यवस्थापन सम्बन्धी ज्ञान पाउदा हर्षित भएका थिए ।

    सुन्तला जात बगैँचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम आइतबार मदाने गाउँपालिका ६ पुर्कोटदह, सोमबार मदाने गाउँपालिका ७ भनभने, मंगलबार धुर्कोट २ पिपलधारामा, बुधबार रेसुङ्गा नगरपालिका ५ भुवनपानीमा, क्रमशःरेशुङा नगरपालिका भाडगाउ,गुल्मीदरवार,छत्रकोट गाउँपालिका लगायतका स्थानमा संचालन गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गंगा कुमारी पोखरेलले जानकारी दिनुभयो ।

    उक्त तालिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गंगा कुमारी पोखरेलको अध्यक्षता,सुन्तला जोन समन्वय समितिका सचीव मदन थापाको आथिथ्यता,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइका लेखापाल पुस्पा पान्डे,कृषि प्राविधिक मधुकृष्ण कंडेल ,धुर्कोट गाउपालिका १ का कृषि प्राविधिक भावना महतको उपस्थिति र कार्यक्रम सन्चालन सोहि कार्यलयकै कृषि प्राविधिक जहिद्र हरिजन ले गर्नुभएको थियो।

    © 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७