रविको अभिव्यक्तिबारे अखबारले के छापे ?

काठमाडौं । आइतबार सरकारबाट बाहिरएको जानकारी दिनेक्रममा गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलधारे मिडियाहरुलाई आधारहीन समाचार सम्प्रेषण गरेको बताएका थिए । त्यतीमात्र हैन ठुला मिडियाका केही सञ्चालक र सम्पादकको नाम लिन समेत भ्याएका थिए । त्यसको प्रतिकारमा मिडियाका सम्पादकहरुले आक्रोशित र उत्तेजित अभिव्यक्ति दिएका लामिछानेले पछि अभिव्यक्ति फिर्ता लिने जनाएका थिए । पत्रकार महासंघ र प्रेस युनियनले पनि उनको धम्कीपूर्ण अभिव्यक्तिले सञ्चारक्षेत्रमा त्रास पैदा भएको जनाएका थिए ।

लामिछानेले कान्तिपुर, अनलाईन खबर, सेतोपाटी लगायतले तथ्यहिनपुर्ण समाचार लेखेको बताएका थिए । त्यसै अनुरुप सबैको ध्यान सोमबारको अखबारमा कान्तिपुर लगायतले के लेख्छन रविको विषयमा भन्ने थियो । हुलाक सञ्चारले विभिन्न पत्रिकाले रवि लामिछानेको हिजो पत्रकार भेटघाटको क्रममा दिएको अभिव्यक्तिप्रति सम्प्रेषित समचार लिएका छौ ।

आज कान्तिपुर दैनिकले पहिलो पृष्ठमा रविको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘रवि लामिछानेको धम्कीपूर्ण घृणावाद’ शीर्षकमा सम्पादकीय लेखेको छ । भने अर्को ‘रविले देखाए वास्तविक छवि’ र ’रविलाई दर्जन प्रश्न’ शीर्षकमा दुई मुख्य समाचार छन् ।

सम्पादकीयमा लेखिएको छ । ‘नेपाली मिडियाले उनको नागरिकता गैरकानुनी भएको समाचार लेखेको थियो, जसलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सही ठहर गर्दै उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पद खारेज गरिदिएको छ’, कान्तिपुरले लेखेको छ, ‘उनले दोहोरो राहदानी लिएको विषयमा पनि गृह मन्त्रालयमा उजुरी छ, तर उनी मन्त्री बनेर अनुसन्धान रोकाएका थिए । आफैँ गैरकानुनी नागरिकता र राहदानी बोकेका लामिछानेले नेपालमा सुशासन ल्याउने नारा दिएर चुनाव जितेका थिए ।’

‘रविलाई दर्जन प्रश्न’ मुख्य शीर्षक र ‘यी कुन तथ्य आधारहीन हुन् ?’ भन्ने उपशीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमै छापेको दोस्रो टिप्पणीमा रविमाथि प्रतिप्रश्न गरिएको छ । कान्तिपुरले १२ वटा बुँदामा प्रश्न राखेर कुनचाहिँ आधारहीन भएको भन्दै रविलाई नै प्रतिप्रश्न गरेको छ ।

‘नेता भएपछि आलोचना र प्रश्नहरू सहन सिकून्, सके त्यसबाट शिक्षा लिऊन्, नसके पनि वैरभावचाहिँ नराखून्’, रवि लामिछानेको धम्कीपूर्ण घृणावाद शीर्षकको सम्पादकीयमा कान्तिपुरले लेखेको छ, ’र, मुख्य कुरा त चुनावी जितको अनावश्यक उन्माद त्यागून् । २०६४ सालको निर्वाचनमा विजयी भएपश्चात् दम्भ नबढेको र सम्हालिन जानेको भए अहिले माओवादीको कद सायद यति सानो हुँदैनथ्यो, लामिछानेले यही उदाहरणबाट पनि सिकून् र आफूलाई सम्हालून् ।’

सम्पादकीयलाई कुनै पनि मिडियाको संस्थागत धारणा मानिन्छ । कान्तिपुरले आजको आफ्नो सम्पादकीयमा रास्वपा सभापति लामिछानेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको चौथो ठूलो दलका प्रमुखले सञ्चारमाध्यम र सम्पादक÷प्रकाशकलगायतमाथि यो तहको गालीगलौज गर्नु, अप्रमाणित लाञ्छना लगाउनु र ‘कारबाही गर्ने’ धम्कीमा उत्रिनु अनपेक्षित मात्र होइन, अस्वस्थकर पनि रहेको सम्पादकीयमा उल्लेख छ । लामिछानेको विषयमा कान्तिपुरले धेरैनै लेखेको छ ।

अनलाईन न्यूज पोर्टल अनलाईन खबरले ‘गृह नपाएको झोंकमा सम्हालिन नसकेका रवि लामिछाने’ शिर्षकमा लेखेको छ । ‘रिस उठेको छ’ भन्दै सार्वजनिक जीवनमा रहेका व्यक्तिमाथि लाञ्छना लगाइरहेका लामिछाने राष्ट्रिय दलको मान्यता पाएका पार्टीका सभापति हुन् । केही दिन अगाडिसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका लामिछानेको भाषा र बोलीले तत्काललाई उनको ‘मुड’ फ्रेस देखिए पनि पार्टीभित्रका कतिपय सांसद र केन्द्रीय नेता भने विस्मित देखिएका छन् अनलाईन खबरले लेखको छ ।

अङ्ग्रेजी अखबार द हिमालयन टाइम्स’ले ’गृह मन्त्रालय नपाउँदा रास्वपाले सरकार छाड्यो’ शीर्षकमा पहिलो पेजमा छापेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नदिएपछि संसदमा १९ सिट भएको रास्वपाले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएको समाचारमा उल्लेख छ । यसबाहेक यो अङ्ग्रेजी अखबारले लामिछानेबारे अरु विषयलाई खासै स्पेस दिएको छैन ।

द काठमान्डू पोस्टमा पनि ‘गृह गुमाएका लामिछानेको आक्रोश’ शीर्षकमा मुख्य समाचार छापिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सत्तामा फर्किने बाटो अवरुद्ध पारेको भन्दै सञ्चारमाध्यमको कार्यालय घेराउ गर्ने धम्की दिएको समाचारमा उल्लेख छ । काठमान्डू पोस्टले दोस्रो पृष्ठमा लामिछानेले आफ्नो पार्टीलाई सरकारबाट बाहिर निकालेकोबारे खबर छापेको छ ।

नयाँ पत्रिकाले यो विषयलाई प्राथमिकता दिएको छैन । ‘४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा’ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ ।
राजधानी दैनिकले ४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा शीर्षकमा समाचार छापेको छ । आजै साँघु साप्ताहिक प्रकाशित छ । यसले आफ्नो पहिलो पृष्ठमा राष्ट्रपतिका लागि कांग्रेसको ढोक्सा, प्रचण्डले केपी र रविसँग पोखेर आक्रोश’ शीर्षकको समाचार छापेको छ ।

अन्नपूर्ण पोस्टले पनि उक्त विषयलाई केलाएको पाईदैन । अन्नपूर्णले पहिलो पृष्ठको दाहिने कर्नरमा ‘रास्वपा सरकारबाट बाहिरियो, समर्थन यथावत’ (अनलाइनमा फरक शीर्षक) समाचार छापेको छ । अनि एकैचोटि चौथो पेजमा ‘लामिछानेको अभिव्यक्तिप्रति महासंघको आपत्ति’ शीर्षकमा सानो समाचार छ ।

सरकारी पत्रिका गोरखापत्रले पहिलो पृष्ठमा रास्वपा सरकारबाट बाहिरिएको समाचार सम्प्रेषण गरेको छ । ‘सरकारबाट बाहिरियो रास्वपा’ शीर्षकमा समाचार बनाएको गोरखापत्रले रास्वपा सभापतिले नागरिकतामा त्रुटि भएको औलाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१