अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।

नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । अब १५ दिनभित्र पल शाहलाई उच्च अदालत कास्कीमा उपस्थित गराउनुपर्नेछ ।

एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो ।

जिल्ला अदालत नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दूराचारको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । तर जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७