
काठमाडाैं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् ।
खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
एर्दोगानले दक्षिणी टर्कीमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताएका छन् ।
यद्यपि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने ४ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको जनाएका छन्। हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएका राष्ट्रपतिले बताए।
विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भूकम्पबाट थुप्रैको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियनटेपमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प र ६ दशमलव २ रेक्टर स्केलको भूकम्प भएको थियो ।
एर्दोगानले सोमबार सातदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।