
काठमाडौं । निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको थियो ।
सङ्कलित नमुना परीक्षण गर्दा ३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले बताए ।
डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।
निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएकाे थियाे । निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।