राष्ट्रपतिको सवारीमा नागरिकलाई असुविधा नहुने व्यवस्था गरौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिकहरुको सुरक्षासम्बन्धी कार्यविधि बदल्नुपर्ने बताएका छन् ।

उनले राष्ट्रपति र अरु विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा पुर्‍याउन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।

शनिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।’

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका डाक्टरलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो ।

थापाले उक्त घटनाको दोषीलाई कारबाही गर्नुपर्ने भनी सार्वजनिक रुपमा उठेको मागलई सरकाले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

यस्ताे छ उनकाे स्टाटस :

हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ । दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ ।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको छ । यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ । तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ ।

१) विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ ।

२) निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु ।

राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो । संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ ।

 

 

 

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१