एमालेलाई धोका दिए प्रचण्डले प्रधानमन्त्री छोड्नुपर्छ (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले राष्ट्रपतिमा एमालेको उम्मेदवार विजयी हुने सुनिश्चित भएको बताएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता भट्टराईले पुष १० गते भएको सत्ता गठवन्धनको सहमतिअनुसार एमालेले प्रस्तुत गरेको उम्मेदवार नै विजयी हुने दाबी गरे ।

उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म उम्मेदवार तय गर्ने स्पष्ट पार्दै उनले सुवास नेम्वाङ र ईश्वर पोखरेलको विषयमा छलफल भैरहेकोसमेत जानकारी दिए ।

भट्टराई भन्छन्, ‘प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गर्नुभएको छ । त्यो राष्ट्रिय सहमति एमालेको उम्मेदवारमा कायम गरौँ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएको छ । एमालेको उम्मेदवारलाई समर्थन गरे भैगो नी । एमाले बाहेकको उम्मेदवार हामी मान्दैनौँ ।’

नेता भट्टराईका अनुसार यदि नेकपा माओवादी केन्द्रले एमालेलाई धोका दिए वर्तमान सरकार ढल्ने छ । त्यो अवस्थामा एमाले सरकारबाट बाहिरिनेछ । त्यो भनेको प्रचण्ड प्रधानमन्त्रीबाट हटेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्थिति आउनु हो । संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले देउवाले प्रधानमन्त्री बन्ने भएकाले त्यो अवस्था आउन नदिन प्रचण्ड सचेत छन् ।

सुदूरपश्चिममा एमालेको सरकार ढलेको सन्दर्भमा नागरिक उन्मुक्ति पार्टी नै दोषी रहेको भट्टराईको भनाइ छ । न्यायालयले टुंग्याउने मुद्दा राजनीतिक तवरबाट टुंग्याएर रेशम चौधरीलाई रिहा गरौँ भन्ने शर्त नै बेठिक भएको उनको तर्क छ ।

नेता भट्टराईले स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू पदबाट हटे पनि सरकारबाटै हट्ने निर्णय गर्नु चाहिँ बालहठ भएको टिप्पणी गरे । रविले सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने प्रावधानको पछि लाग्न पनि उचित नहुने उनको धारणा छ । निर्वाचन आयोगले चितवनमा उपनिर्वाचनको मिति तोकिसकेकाले रविले त्यतैतर्फ लाग्न उचित हुने उनको सुझाव छ ।

एमाले र कांग्रेस मिलेर सरकार बनाउने विषयमा विगतमा छलफल भएपनि अब भने त्यो च्याप्टर बन्द भएको छ । वर्तमान गठवन्धन सरकार नै पाँच बर्षसम्म कायम रहने भट्टराई बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१