• २०८३ असार २३
  • 2026 July 07, Tuesday

महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ।

सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तलाई दुई सय रुपैयाँदेखि नौ हजार दुईसय रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई दुई सयदेखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा नौ हजार दुई सय रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको बताए।

उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरे पनि कोषलाई भने त्यो नियम लागू नहुने भएकाले साधुहरूको सम्मानस्वरूप दक्षिण दिएर पठाएको बताए।
उनले साधुहरूलाई दक्षिणा उनीहरूको सम्मानको संकेत रहेको भन्दै साधुहरूलाई सबैले सधैँ सम्मानपूर्ण व्यवहार गर्नुपर्ने बताए।

शिवरात्रिका वेला साधुहरूले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरूप साधुसन्तहरूलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिणा दिई आज बिदाइ गरिएको कोषले जनाएको छ।

साधुसन्तहरूलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ। महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्त उपस्थित थिए।