• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

करण दाइ र मैले एक एक रन बनाउ र जितौं भनेर योजना बनाइरहेका थियौं : कप्तान रोहित पौडेल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को मैगलबारको खेलमा स्कटल्याण्डलाई नेपालले २ विकेटले जितेसंगै लगातार चार खेल जितेको छ । यो नेपालको ऐतिहासिक जित हो । नेपाललाई जिताउन नट आउट ९५ रन बनाएका कप्तान रोहितकुमार पौडेलले दशौं नम्बरमा ब्याटिङमा आएका करण केसीसँग केही पार्टनरसीप बनेपछि अब जित्छौं भनेर आत्मविश्वास बढेको बताएका छन् ।

उनले ५–६ विकेट गुमाउँदासम्म जित्ने विश्वास रहे पनि त्यसपछि लगालग विकेट गएपछि के हुने हो भन्ने दबाव परेको सुनाए । तर ८ विकेट गुमाएपछि ब्याटिङमा आएका करण केसीसँगको साझेदारी जमेपछि आफूमा जितिन्छ भनेर विश्वास बढेको उनले बताए ।

१३८ रनमा ८ विकेट गुमाएर दबाबमा परेको नेपाललाई कप्तान रोहित र करणले जिताएका थिए । उनीहरुले नटआउट ७५ रनको साझेदारी गरेका थिए ।

‘करण दाइ र मैले एक एक रन बनाउ र जितौं भनेर योजना बनाइरहेका थियौं,’ नेपाललाई चौका हानेर जिताएका उनले भने, ‘उसले (बलर) खुट्टामा बल फाल्दियो, त्यो बल चार रन भयो, अनि धेरै रिलिफ भयो ।’

खेल सकिन ३५ बल बाँकी छँदै २१३ रनको लक्ष्य भेट्टाउने क्रममा नट आउट ९१ रन बनाएका रोहितले भने, ‘ओभर टन्नै थियो, त्यसैले एक एक रन बटुलेर पनि जित्नु पर्छ भनेर खेलेका थियौं ।’