सांसद भण्डारीलाई मुखबाट खाना खुवाउन थालियो

काठमाडौँ । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ ।

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।

बुधबार बिहान को अपडेटअनुसार उनलाई मुखबाटै खाना खुवाउन थालिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिएका छन् ।

सिवाकोटीका अनुसार सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको नेता सिवाकोटीले जनाए ।

हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको जानकारी दिएका उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न नदिएको बताए । सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१