राजासँग सहकार्य नगरे गणतन्त्रवादीलाई लखेट्छौं (भिडिओसहित)

काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवम् पूर्व मन्त्री केशरबहादुर बिष्टले राजसंस्था र हिन्दु धर्म कायम गर्न कुनैपनि हदसम्म जान तयार रहेको बताएका छन् ।

हुलाक संचारसंग कुरा गर्दै अध्यक्ष बिष्टले गणतन्त्र र दलका नेताहरुका कारण मुलुक तहसनहस भएको र अब सबैले बोल्नुपर्ने समय आएको बताए । देश नै नरहने परिस्थिति सिर्जना भएकाले टुलुटुलु बसेर हेर्न नसकिने भन्दै भिडन्तमा जान पनि तयार हुनुपर्ने धारणा राखे ।

बिष्ट भन्छन्, ‘प्रजातन्त्र दिवसको अवसरमा महाराजधिराजले प्रजातान्त्रिक राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरेका छन् । यो भनेको मुलुक जोगाउन राजसंस्था र हिन्दु धर्म कायम गरौं भन्ने नै हो । देश र जनताका लागि यो नै सवोत्तम हो । यदि दलहरुले मानेनन् भने महाराजले मौन नबस्ने चेतावनी दिइसके । गणतन्त्रवादीहरु धोती टोपी फुकालेर भाग्नु सिवाए अर्को विकल्प छैन ।’

उनले भने्, ‘संसारभर हटाइएका राजा कि भागेका छन् कि मारिएका छन् । तर नेपालको राजा हेर्नुस त ? मारे मार, फाले फाल, मलाई बस्न देऊ भन्दै यही बास मागेर बसे । यस्तो राजा दुनियाँमा भेटिन्छ कहिं ?’

‘केही दिनअघि झापामा दुर्गा प्रसाईले गरेको कार्यक्रममा राजाका खुट्टा समात्न सर्वसाधारणको तछाडमछाड चल्यो । यो भनेको राजाप्रतिको आकर्षण हो । अहिलेका दलहरुले गरेको बेथितीप्रति तीव्र घृणा हो । अब मुलुक जोगाउन राजसंस्था र हिन्दु धर्म कायम गर्नुको विकल्प छैन । महाराजधिराजले गरेको सहकार्यको प्रस्ताव निकै सकारात्मक र स्वागतयोग्य छ । दलहरुले समयमै यो कुरा बुझेर अंगिकार गरे मुलुक र जनताको हित हुन्छ । अन्यथा, गणतन्त्रवादीहरु लखेटिनेछन् । यो सत्य हो ।’ उनले थपे ।

अध्यक्ष बिष्टले राजा र हिन्दुत्वको नारा लिएर अघि बढेको राप्रपाप्रति पनि कटाक्ष गरे । उनका अनुसार राप्रपा सिद्धान्तबाट च्युत भैसकेको छ । गणतन्त्र मान्दैनौ भन्ने राष्ट्रपतिबाट शपथ खाने, राष्ट्रपति निर्वाचनमा भाग लिने ? संघीयता मान्दैनौ भन्ने प्रदेशको मन्त्री र सभामुख बन्ने ? भष्ट्रचार गर्नु भनेको आमाको रगत खानु सरह भन्ने भ्रष्टाचारीलाई मन्त्री बनाउने ? यो भन्दा ठूलो पाखण्ड अर्को के हुन्छ ?

राष्ट्र, राष्ट्रियता र नागरिक जोगाउँ भन्ने दुर्गा प्रसाईको अभियान उपयुक्त भएकाले आफूले पनि साथ दिएको उनको भनाइ छ । भोलिको दिनमा प्रसाईंसंग आफनो थप सहकार्य हुनसक्ने उनी बताउँछन् ।

विस्तृत भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१