• २०८३ असार २३
  • 2026 July 07, Tuesday

सन्दीपको पुनरावेदनको पेसी भोलि, सर्वोच्चले विदेश भ्रमणको रोक हटाएमा यूएई जान सक्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेले विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

सन्दीपका वकिल सरोज घिमिरेले आज निवेदन दर्ता भएको र भोलि पेसीमा चढ्ने जानकारी दिए । निवेदनमा विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्यधिक भएकाले घटाउन तथा दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लंघन गरी अपराधिका रुपमा चित्रित गरिएको त्यसलाई रोक्न माग गरिएको छ ।

सरकारी पक्षले पनि उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो । उक्त पुनरावेदनको पेसी भोलिलाई तोकिएको छ । सन्दीपका वकिलले उक्त पुनरावेदनसँगै आफूहरूको निवेदनमा सुनवाइ हुनुपर्ने माग गरेका छन् । यदि सन्दीपको माग सुनुवाइ गर्दै भोलि सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी यूएई जान सक्नेछन् ।