• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आईसीसी यू–१९ विश्वकप छनोटमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल आज सिंगापुरसँग खेल्दैछ । युएईमा आजदेखि सुरु हुने उक्त खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अमजानमा सुरु हुनेछ ।

सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाल पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा छ । राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालको कप्तानीमा नेपाल मैदान उत्रनेछ । यसअघि गुलशन झालाई कप्तान नियुक्त गरेपनि लिग टुका लागि गुलशनलाई सिनियर टोलीमै समावेश गरिएपछि देव यू–१९ को नयाँ कप्तान चयन भएका हुन् ।

जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टोली ८ वर्षपछि यू–१९ विश्वकपमा पुग्नेमा लक्ष्यमा छ ।

छनोटमा नेपाल र आयोजक युएईसहित सिंगापुर, कुबेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविन लिगको खेलपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने यू–१९ विश्वकपमा छनोट हुनेछ । आजै युएई र मलेसिया तथा हङकङ र कुवेतबीच पनि खेल हुनेछ ।

नेपालले दोस्रो खेल २५ फेब्रुअरीमा कुबेतसँग र तेस्रो खेल २७ फेब्रुअरीमा हङकङसँग खेल्नेछ । यस्तै मलेसियासँग २८ फेब्रुअरीमा र अन्तिम खेल घरेलु टोली युएईसँग २ मार्चमा खेल्नेछ ।

नेपाली टिम देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क), दिपक बोहरा (ख), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र आकाश चन्द ।