
धनुषा । धनुषाका दिलीप महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाइएको छ ।
अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक दिलीपको हत्या गरेको कसुरमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई उक्त सजाय सुनाइएको हो ।
त्यस्तै, हत्यामा संलग्न जितेन्द्रलाई भने १२ वर्ष कैद सजाय सुनाइएको छ । गत फागुन २ गते अदालतले विपिन र मुनीन्द्रलाई दिलीपको मनसायपूर्वक हत्या गरेकामा दोषी ठहराइएको हो भने जितेन्द्रलाई हत्याको मतियार भएकामा कसुरदार ठहराए पनि शुक्रबार मात्र फैसला निर्धारण भएको हो ।
अभियुक्त विपिन र मुनिन्द्रलाई अदालतले ५/५ लाख जरिवाना पनि तोकेको छ । जितेन्द्रलाई भने साढे २ लाख क्षतिपूर्ति तोकिएको हो ।
हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने सफाइ पाएका छन् ।
घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए । उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको थियो ।
क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न बिहान ४ बजे खोलामा पुगेका बखत दिलीपको हत्या भएको थियो ।