
काठमाडाैं । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गरी उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुन लागेकाे छ ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।
सरकारी वकिलले पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबीसहित उच्च अदालत पोखरामा रिट निवेदन हालेका छन् । आज दुवै निवेदन राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको हो ।
हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ ।
२०७८ फागुन ११ गते उनीविरुद्ध जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी कारागारमा नै छन् ।