काठमाडौं । पुस १० गतेको सत्ता समीकरणबाट बनेको सरकार फागुन १५ मा ढलेको छ ।
पुस १० गते बनेको सात दलको गठबन्धन दुई महिनामै भताभुंग भएको हाे । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेपछि पुस १० गते बनेको गठबन्धन टुंगियाे ।
राष्ट्रपति निर्वाचनमा ८ दल सहकार्य गरेर जाने भएपछि राप्रपाले सरकारबाट यसअघि नै हात झिकिसकेकाे छ । त्यसपछि एमालेले पनि प्रचण्डले साथ नदिने देखेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ ।
राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवारलाई माओवादीले सर्मथन नगर्ने देखेपछि सरकारबाट बाहिरिए पनि एमालेले परराष्ट्रमन्त्रीलाई जेनेभा जान लाग्दा रोकपछि अपमान भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको छ ।
पुस १० गते ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि अब सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्र सांसदको मात्र साथ छ । अहिले समर्थनमा ७७ जना सांसद मात्र छन् ।
यद्यपी, नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासकाे मत दिएकाे छ ।
यतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलेर ८ दलीय नयाँ गठबन्धन बनेको छ ।
नयाँ गठबन्धन बनेपछि पुरानो गठबन्धन भत्केको छ तर सरकारमा पुरानो गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सासंदहरु सरकारबाट बाहिर निस्केका छैनन् ।
दुई सत्ता साझेदारले आफूलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनु पर्ने भएको छ ।
संविधान धारा १०० को उपधारा २ मा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा वा उक्त दल विभाजन भएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरिएको छ ।
उक्त उपधारामा भनिएको छ- प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए।
केन्द्र सरकारमा गठबन्धन भत्किएपछि यसको असर प्रदेश सरकारहरूमा पनि देखिने भएको छ । अहिले एमालेको नेतृत्वमा तीन प्रदेशमा सरकार छन् भने माओवादीले दुई, कांग्रेस र जसपाले एक प्रदेशमा मुख्यमन्त्री चलाइरहेका छन् ।
पुस १० को गठबन्धन भत्किनासाथ एमालेले नेतृत्व गरेका प्रदेश १, गण्डकी र लुम्बिनीको सरकार ढल्ने निश्चित छ ।