• २०८३ असार १०
  • 2026 June 24, Wednesday

४२ दिनमा ठूलो प्रभाव पर्ने खालको धेरै काम गरेको परराष्ट्रमन्त्री पौड्यालको दाबी

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले जेनेभा भ्रमणमा नपठाएको प्रति सरकारलाई प्रश्न गरेकी छन् । ४२ दिनमा आफूले सानो काम गरेर ठूलो प्रभाव पर्ने खालको धेरै काम गरेको बताइन् ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधतामाथि प्रश्न उठेको छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री पौडेलले मन्त्रिपरिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आइतबार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशनअनुसार आफू जान नपाएको बताइन् ।

मन्त्रिपरिषद्ले विज्ञको रुपमा पूर्वकानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराएपनि अन्तिममा कोइरालालाई नै नेपालको नेतृत्व दिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

कोइरालालाई सरकारको सल्लाहकारका रुपमा नियुक्ति गरेर सल्लाहकारको हैसियतमा पठाइएको सुनेको भन्दै सल्लाहकार नियुक्तिका लागि औपचारिक निर्णय नभएको मन्त्री पौड्यालले जानकारी गराइन् ।

नेपालको संक्रमणकालिन न्यायको सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्दै उनले त्यसलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्नेमा जोड दिइन् । मानव अधिकारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउनु नहुने बताइन् ।

नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलिएको उनको टिप्पणी थियो । विदेशी प्रतिनिधिको भेटमा भेटहरुमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको स्मरण गराउँदै उनले दलका नेताहरूले कार्यान्वयनमा इमान्दारिता देखाउन नसकेका बताइन् ।