
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेल नेपालले ४ विकेटले जितेको छ ।
ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए ।
नेपालले लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेका थिए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गरे । आसिफ शेखले रनआउट हुनुअघि ३९ बल खेल्दै ५ चौका मद्दतमा ४४ रन बनाए ।
त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ३ रनमै बोल्ड भए । कप्तान रोहित पौडेल २० रन बनाएर आउट हुँदा नेपाल १३५-४ को स्थितिमा थियो । त्यसपछि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार गरे ।
आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ४३ बल खेल्दै १ छक्का मद्दतमा २२ रन जोडेर ३९औं ओभरमा आउट भए ।
लगत्तै अर्को ओभरमा आरिफ पनि आउट भए । आरिफले ६२ बल खेल्दै १ चौका मद्दतमा ३३ रन बनाए । छक्का प्रहार गर्दै नेपालको जित पक्का गरेका कुशल मल्लले अविजित १२ जोडे ।
सोमपाल कामी ५ रनमा अविजित रहे ।
पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १-१ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो ।
लिग टुमा नेपालको यो लगातार पाँचौँ जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो ।
जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग खेल्नेछ ।