
काठमाडाैं । बुधबारबाट राति १२ बजेदेखि बिहान ४ बजेसम्म पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा खण्ड बन्द हुने भएको छ ।
सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि रातिको समयमा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जानकारी दिए ।
तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि यो सडक खण्डमा कामको गति असाध्यै सुस्त हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन् । ट्राफिक जामको समस्या झेलिरहेका छन् ।
अहिले सडक विस्तारका लागि भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने कामहरू भइरहेका छन् ।
सम्झौताअनुसार काम भए पृथ्वी राजमार्गको तनहुँमा पर्ने आँबुखैरहनी–जामुने (पहिलो खण्ड) खण्डको काम २०८१ सालको वैशाखभित्रमा सकिनुपर्छ ।
तनहुँको जामुनेदेखि कास्कीको पोखरा(दोस्रो खण्ड)सम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ । आधाभन्दा बढी अवधि गुज्रिसक्दा आँबुखैरहनी–जामुने खण्डको काममा १५.५ र जामुने–पोखरा खण्डको काममा ४.१ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा राजमार्ग विस्तारको काम चलिरहेको हो । ८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर आँबुखैरहनी–पोखरा सडक विस्तार थालिएको हो । यसको अहिलेसम्मको समग्र भौतिक प्रगति करिब १० प्रतिशत छ ।
आँबुखैरहनी–जामुने खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले र जामुने–पोखरा खण्डको ठेक्का चाइनाकै अन्हुई काइयुनले पाएका छन् । पहिलो खण्डका लागि ६ अर्ब २१ करोड र दोस्रो खण्डका लागि ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो ।