• २०८३ असार १०
  • 2026 June 24, Wednesday

प्रदेश १ को प्रस्तावित नाम आज टेबल गर्ने तयारी

काठमाडौं । प्रदेश १ को नामकरण गर्नका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा नामको विषयले बैठकमा औपचारिक रुपमा प्रवेश नै पाएको थिएन । पछिल्लो राजनीतिक घटनाक्रमकाबीच दलहरुले नामको विषय टुङ्गो लगाउन गृहकार्य तीव्र बनाएका हुन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभामा आजै नामको विषयले प्रवेश पाउने सम्भावना छ ।

उनका अनुसार प्रदेशमा दलका नेताहरु दुई सातायता अनौपचारिक छलफलमा छन् । छलफलबाट चाँडै नाम टुङ्गो लगाउने सहमति भएको उनले बताए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज नामको विषयले प्रवेश पाउने सम्भावना रहेको बताए ।

नाम टुङ्गो लगाउने विषयमा दलहरु एक मत भएपनि के नाम प्रस्ताव गर्ने भन्ने मतभेद छ । दलहरुबीच कोसी र किराँत नाममा छलफल केन्द्रित छ ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नै नेतृत्वमा नामको टङ्गो लगाउन गृहकार्य गरेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीसँग बालुवाटारमा भएको भेटमा प्रदेश १ को नाम राख्न ढिलाइ भएकोमा चासो राखेका थिए ।

६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले मात्र नाम राख्न सकेको छैन ।