साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय कार्यदल गठन

काठमाडौं। नेपाल सरकारले साइबर सुरक्षासम्बन्धी एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। सरकारी डेटा सेन्टर र वेबसाइटमा बारम्बार समस्या आउन थालेपछि मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले कार्यदल गठन गरेको हो। यसअघि गत सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यदल गर्ने निर्णय गरेको थियो।

कार्यदलको संयोजकमा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्वसदस्य जुद्धबहादुर गुरुङ छन्। गुरुङको साथमा साइबर सुरक्षाका विषय विज्ञका रूपमा बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम सदस्य छन्।

कार्यदलमा नेपाल प्रहरी, नेपाली सेना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पनि प्रतिनिधि रहने जनाइएको छ। कार्यदललाई अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको समय उपलब्ध गराइएको छ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१