
काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् ।
११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय बृहत शान्तिसम्झौता मर्मबिपरितका कार्यहरु भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताए ।
उनले आफूहरु अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्धाहरुलाई आयोगमार्फत् समाधान गर्नुपर्ने जिकीर गरे ।
द्वन्द्वकालीन मुद्धाहरुलाई निरुपण गर्न बिभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरबादीहरुले शान्तिप्रक्रियाका कामलाई पूर्णता दिन नदिएको उनले बताए ।
भट्टराईले अहिले संविधानमा रहेका महिला, लगायतका जनताका अधिकारहरुलाई उल्टाउनका लागि गम्भीर प्रकृतिका षडयन्त्रहरु भइरहेको बताए ।
उनले बलिदानीपूर्वक बनाएको नयाँ संविधानमा रहेका अधिकारहरुमा केही त्रुटी रहेकाले आगामी दिनमा सबैलाई समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राखे ।