
काठमाडाैं । अभिनेता अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ ।
यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा उतारेको हो । अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक-एक शो उपलब्ध गराएको छ ।
अनमोलको छैटौं दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो ।
एकैदिन आएको फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ । अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो ।
वितरक सुनिल मानन्धरका अनुसार फिल्मले अहिलेसम्म ३० लाख रूपैयाँ कमाएकाे छ । याे फिल्म करिब ३ कराेड लगानीमा बनेकाे हाे ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ ।