दयाहाङ राईसहित १३ कलाका मिलेर खोले रेष्टुरेन्ट

काठमाडौं । दयाहाङ राईसहित १३ जना कलाकार मिलेर काठमाडौंको बानेश्वरस्थित थापागाउँमा लेन्चाखिम रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

करिब एक करोड २० लाख रूपैयाँभन्दा बढी लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

मण्डला नाटकघरसँग जोडिएका सबै कलाकारहरू मिलेर लेन्चाखिम सञ्चालनमा ल्याइएको हो । जसमा बुद्धि तामाङ, सृजना सुब्बा, विजय बराललगायत १३ जना छन् ।

अनामनगरमा नाटकघर हुँदादेखि नै क्याफे खोल्ने सोच थियो । ‘नाटक हेर्न आउनेहरूलाई खान, बस्नका लागि सहज हुन्छ र अहिले नयाँ ठाउँमा नाटकघर बनिसकेपछि खाली ठाउँ पनि प्रयोगमा आउँछ भन्ने सोच्ले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं’ । दयाहाङले भने ।

रेष्टुरेन्टको नाम भने राईको वान्तवा भाषामा राखिएको उनी बताउँछन् । वान्तवा भाषामा ‘लेन्चा’ भनेको खाजा र ‘खिम’ भनेको घर हुने उल्लेख गर्दै उनले सुन्दा राम्रो लागेकाले लेन्चाखिम नाम राखिएको बताए । नाम जस्तै लेन्चाखिममा खाजाहरू पनि मौलिक परिकारका चाख्न पाइन्छ ।

यहाँ पूर्वको वाचिपा,याङवेनु जस्ता मौलिक परिकारको स्वाद लिन सकिन्छ। यसबाहेक अन्य रेष्टुरेन्टमा पाइने सबै परिकारहरू लेन्चाखिममा पाइने दयाहाङ बताउँछन् ।

उनले यो रेष्टुरेन्ट नाफा कमाउनेभन्दा पनि मण्डला नाटकघरको सञ्चालनमा सहयोग पुग्ने सोचले खोलेको बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१