अभिनेत्री भुवन चन्दलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’

काठमाडौं । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ चलचित्रकर्मी यादव खरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङ लगायतले उनलाई खादा, फूलगुत्था र सम्मान पत्रले सम्मानित गरे ।

कार्यक्रममा फिल्मका चर्चित कला निर्देशक निर्जल श्रेष्ठ ‘सोसल मिडिया कला सम्मान २०७९’ प्राप्त गर्दा पत्रकार पारमणि पौडेल ‘युवा पत्रकारिता पुरस्कार २०७९’बाट सम्मानित भए । पत्रकारलाई पौडेललाई नगद १५ पाँच सय ५५ बाट सम्मानित गरिएको हो ।

ड्रिमवर्ल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडौंले आयोजना गरेको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’मा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड पाएको छ । वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघु चलचित्र ‘बेलुन’ले ‘बेस्ट सट फिल्म अफ द इयर’ को अवार्ड पाएको हो । लघु चलचित्रमा माओवादीद्वन्द्वकालमा आधारित कथावस्तु समेटिएको छ ।

समारोहमा उत्कृष्ट युट्युब भिडियो, ब्लग, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएका छन् । समाज परिवर्तनमा ठुलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघु चलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताइन् । उनले पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघु चलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघु चलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह गरिन् ।

चर्चित फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायक रहेको अवार्डमा आदिवासी जनजाति चलचित्रमा भने निर्णायक समूहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१