काठमाडौं आउँदै भारतीय गायक हनी सिंह

काठमाडौं । भारतीय हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । उनी चैत २५ गते (अप्रिल ८) काठमाडौंको बौद्धस्थित होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुनेछन् ।

युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । ह्यातमा हुने सिंहको कार्यक्रमको टिकटको मूल्य सम्बन्धी जानकारी ई–सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए ।

‘साधारण टिकटको १ हजार रुपैयाँदेखिमाथि र भीआइपी टिकटको दुई हजार रुपैयाँभन्दा बढी हुन सक्ने छ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ श्रेष्ठ भन्छन् ‘प्रि–बुकिङका लागि सम्पूर्ण टिकट इ–सेवाबाट प्राप्त गर्न सकिन्छ ।’

गायक सिंह भारतमा संगीत कम्पोजर, र्‍यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर थालेका थिए ।

गायक सिंहका ब्लु आइज, धिरे धिरे र चार बोतल भोड्का लगायतका चर्चित गीतहरू छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने श्रेष्ठले जानकारी दिए ।

युनिफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए । ‘नेपाल भारतको छिमेकी मुलुक भएकाले पनि मलाई धेरै मनपर्छ । चाँडै नेपाल आउँदैछु,’ सिंहको भनाइ उद्त गर्दै श्रेष्ठले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१