• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ठगी आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाह जेल चलान

काठमाडाैं । जिल्ला अदालत काठमाडौंले ठगी र कीर्तेसहित चार मुद्दा लगाइएका पृथ्वीबहादुर शाहलाई जेल चलान गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई कारागारमा चलान गर्न आदेश दिएको हो ।

पक्राउ परेकामध्ये ६ जनालाई अदालतको आदेशअनुसार थुनामा पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

त्यही प्रकरणमा पक्राउ परेकी मनिका तामाङ ५० हजार धरौटीमा रिहा भएकी छन् । अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस २२ पक्राउ गरेर अनुसन्धान थालेको थियो । यो प्रकरणमा अन्य १३ जना अझै फरार छन् ।

सीआईबीले शाहसहित २० जनाविरुद्ध ठगी, सार्वजनिक लिखित कीर्ते र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि जिल्ला अदालत काठमाडौंमा प्रतिवादीको बयान गराउने र थुनछेक बहस भएको थियो ।

आरोपित २० जनामध्ये ७ जनालाई मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेको थियो । यो कसुरका मुख्य आरोपित अछामका पृथ्वीबहादुर शाह थिए । यस्तै, उनका भाइ विजयविक्रम शाह र बुबा देवेन्द्रबहादुर शाह पनि ठगी आरोपमा मुछिएका थिए ।

पृथ्वी शाहकाे समूहमाथि ४ मुद्दा दायर गर्न सीआईबीकाे सुझाव

विजयसहित दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री, नवलपरासीका रुक्मांगत काफ्ले, अछामका रंगबहादुर साउद, भक्तपुरकी विनिता तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, विनोद सुन्दास, कैलालीका लक्ष्मण रेग्मी, काठमाडौंका सानु ठकुरी, अविन परियार, राजकुमार ठकुरी, दोलखाका सन्तोष पाण्डे, ललितपुरकी अन्जना रजक भण्डारी, बझाङका किशोर सिंह, तरुण शाह, नुवाकोटका शिवकुमार पाण्डे, अछामका देवेन्द्रबहादुर शाह अझै फरार छन् ।

यो घटनामा जोडिएका व्यक्ति पृथ्वीका आफन्त र उनले खोलेका २४ कम्पनीमा काम गर्ने कर्मचारी रहेको खुलेको थियो । उनले बयानका क्रममा अधिकांश रकम व्यवसायिक प्रयोजनका लागि ल्याएको बताए पनि केही रकमको स्रोत भने खुलाउन सकेका थिएनन् ।

उनका विभिन्न कम्पनी र व्यक्तिका नाममा २६ जनाको नाम र कम्पनीबाट रकम जम्मा गरेको खुलेको थियो ।