प्रचण्डपछि आरजु राणा प्रधानमन्त्री, भारतमा भएको सहमति यही हो (भिडिओसहित)

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाकहाल प्रचण्डपछि कांग्रेस नेतृ डा. आरजु राणा प्रधानमन्त्री हुने दाबी गरेका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता भण्डारीले नयाँ राजनीतिक समीकरण बन्दा आलोपालो प्रधानमन्त्रीको चर्चा चलेपनि त्यो कार्यान्वयन नहुने दाबी गरेका हुन् । उनका अनुसार चार वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र त्यसपछि चुनावी सरकारको नेतृत्व आरजुले गर्नेछिन् ।

भण्डारी भन्छन्, ‘प्रचण्ड र आरजु राणा भारत भ्रमणमा गएका बेला भएको सहमति यही हो । भाजपाका विदेश विभाग प्रमुख डा.बिजय चौथाइवालेलाई आरजुले भाई बनाएकी छिन् । चौथाइवालेले आरजुलाई प्रधानमन्त्री बनाउन सहयोग नगर्ने कुरा पनि भएन । ’

आफनो पार्टीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री हुने इच्छा प्रकट नगरेको र आलोपालोको सहमति भएको रहेछ भनेपनि उनीमाथि धोका हुने भण्डारी बताउँछन् ।

भण्डारीका अनुसार अहिलेको सरकार भारत र अमेरिकाको सदभावमा बनेकाले चाँडै एमसीसी, एसपीपी, नागरिकता विधेयक, विद्युत परियोजना भारतलाई दिने लगायतका राष्ट्रघाती काम अघि बढ्नेछन् ।

उनी भन्छन्, ‘ हेर्दै गर्नुहोला अब संसदमा असमान सन्धी सम्झौता पेस हुनेछन् । नेपाललाई घात गर्ने यस्ता सम्झौता फटाफट पास हुनेछन् । त्यही गर्न यो आठ दलीय गठबन्धन बनेको हो । ’

नेपाललाई भारतले निल्न खोज्ने उसको पुरानै नीति भएपनि नेपालका नेताहरुको कहिल्यै होस नखुलेको भण्डारी बताउँछन् ।

भण्डारी अब आउँदो बैशाख १० गतेको उपनिर्वाचनमा रवि लामिछानेलाई उम्मेदवार हुन नदिने षडयन्त्र भैरहेको प्रमाण आफूसँग रहेको बताउँछन् । अहिलेको आठ दलीय गठबन्धनबाटै उनीमाथि षडयन्त्र भैरहेको उनको दाबी छ ।

रवि लामिछाने असफल भए सम्पूर्ण युवा जगत असफल हुने बताउँदै उनले आफू लामिछानेसँग सहकार्य गर्न तयार रहेको बताए । चितवन र देशको विकासका लागि आफूसँग स्पष्ट योजना र खाका रहेको उनी बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१