काकाले बोकेको बन्दुक पड्किँदा सल्यानमा भतिजाको मृत्यु

काठमाडौं । भरूवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुका बनगाड नगरपालिका–९ स्वाराका ४० वर्षीय आईते रावतले बोकेको भरुवा बन्दुक पड्किँदा उनका भतिजा १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो।

काका–भतिजा सोमबार बेलुका सिकार खेल्न भनेर भरुवा बन्दुकसहित नजिकैको बाहुनडाँडा जंगलमा गएका थिए।

आईते रावतले बोकेको उक्त बन्दुक पड्किँदा चित्रबहादुरको पेट र घाँटीमा गोली लागेको थियो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार अन्दाजी ५ बजेतिर उक्त घटना भएको थियो।

घटना लगत्तै चित्रबहादुरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ओरघाट भन्ने ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए।

बन्दुक बोकेका काका नाता पर्ने आईते रावतलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७