
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको बताएका छन् । आइतबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीसँगको छलफलमा उनले कानुनको इतिहासमा गलत पढाइएको बताए ।
१९९७ सालमा जुद्धशमशेरले दुईवटा शनद जारी गरेको र त्यसमध्ये कानुनी शनदको आधारमा पहिलो अदालत गठन भएको ओलीले बताए ।
कानुनको इतिहासमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान उल्लेख छ । उनी भारतीय नागरिक थिए । ओलीले ००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउन संविधान संशोधन गरिएको बताए ।
ओलीले नेपालको पहिलो संविधान पनि २००४ सालको नेपाल सरकार वैधानिक कानुन नभई अर्कै रहेको बताए । उनले जुद्धशमशेरले १९९७ सालमा जारी गरेको शनद नै नेपालको पहिलो संविधान भएको जिकिर गरे ।