![](https://hulaksanchar.com/wp-content/uploads/2023/03/nepal-team-1.jpg)
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गरेको छ ।
नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो ।
ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो । अम्पायरले खेल रोकेर बेल झारेका थिए । यूएईका खेलाडीले भने असन्तुष्ट जनाएका थिए ।
नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे ।
दीपेन्द्र १० रनमा अविजित रहे ।
गुलशनले ४२ औं ओभरमा गुलशन झाले मोहम्मद वासिमलाई तीन चौका र एक छक्का हानेर कुल २० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो ।
नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए ।
आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।
ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध टियु मैदानमै ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो ।
नेपाल अब ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ जित र १६ मा हारसहित ३९ अंकका साथ चौथो स्थानमा छ ।
आईसीसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सोझै विश्वकप छनोटमा पुगेका हुन् ।
विश्वकप छनोट आगामी जुन जुलाईमा जिम्बावेमा हुनेछ । यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ ।
के हो ‘डीएल मेथड’ ?
यो नियम सुरुमा १९९७ मा जिम्बाबे र इंग्ल्यान्डबीचको खेलमा लागू गरिएको थियो । पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् १९९९ मा यो नियमलाई औपचारिक रुपमा लागू गरेको हो ।
भौगोलिक तथा प्राकृतिक कारणले खेलमा प्रभाव पारेको खण्डमा खेललाई निर्णयसम्म पुर्याउन डकवर्थ लुइसको प्रयोग गरिन्छ । सोही नियम बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेलको नतिजा घोषणाा गरिएको हो ।
यस पद्धतिमा पहिले ब्याटिङ गर्ने टोलीलाई आर १ तथा दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीलाई आर २ का रुपमा मानिन्छ ।
निर्णयका लागि विभिन्न तीन फरक पद्धतिबाट यसको गणना गरिन्छ । टिम २ को रन औषत टिम १ को भन्दा कमजोर रहेको अवस्थामा पावर प्लेमा प्रहार गरेको रनरेटको औषतलाई समेत गणना गरी विकेटको अवस्थालाई पनि हिसाबको पाटोको रुपमा गणना गरिन्छ ।
डीएल मेथड ५ देखि ५० ओभरको खेलमा प्रयोग गरिन्छ । जसका लागि शेष विकेट महत्वपूर्ण पाटोका रुपमा रहेको हुन्छ ।
टोनी लुईस र फ्रान्क डकवर्थले संयुक्त रुपमा यो नियमको प्रतिपादन गरेका थिए ।
लुइसले डकवर्थसँगको सहकार्यकामा लिमिटेड ओभरको क्रिकेटमा वर्षाले प्रभावित भएमा नयाँ लक्ष्य दिनका लागि डकवर्थ एण्ड लुइसको नियम बनाएका हुन् ।