महिला कर्मचारीसँग अश्लिल हर्कतकाे भिडिओ आएपछि कृषि विश्वविद्यालयका डिन दत्त निलम्बित

चितवन । कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ ।

दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।

गत मङ्गलबार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो ।

त्यस्ता दुईवटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बन गरेर तीन सदस्यीय छानबिन समिति बनाएको जानकारी दिए । विश्वविद्यालयका प्राध्यापक डा श्रवणकुमार साहको संयोजकत्वमा प्रा.डा. दुर्गा देवकोटा र प्रा. नारायणराज जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।

१५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको उनले बताए । विश्वविद्यालयले डिन दत्तलाई निलम्बनको पत्र बुझाएको छ । डिन दत्तलाई तत्काल कारबाही गर्न चौतर्फी दबाब परेपछि निलम्बन गरिएको बताइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१