
काठमाडौं । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उम्मेदवार झाले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन् ।
उनले भनिन्, ‘राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।’
आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ । साढे ११ बजेसम्म सङ्घीय संसद् सदस्यतर्फ एक सय ५० र प्रदेशसभा सदस्यतर्फ दुई सय ८६ सदस्यले मतदान गरेका छन् ।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य छन् ।