तरकारी खेती र बगैंचा सुदृढीकरण सम्बन्धि २ दिने तालिम सम्पन्न

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा–१ मा तरकारी उत्पादन तथा सुन्तला बगैचा सुदृढीकरण सम्बन्धि दुइदिने तालिम दिइएको छ । वडा कार्यालयद्वारा एक घर एक करेसाबारी निर्माण कार्यक्रम अन्तर्गत मौसमी तथा बेमौसमी तरकारी उत्पादन तथा सुन्तला बगैचा सुदृढीकरण सम्बन्धि तालिम दिइएको हो ।

सोही वडाका ४२ जना कृषकहरुको सहभागितामा २०७९ चैत २ र ३ गते गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा–१, नयाँगाउँमा दुई दिने तालिम सम्पन्न गरेको वडा नं. १ को कृषि प्राविधिक भावना महतले बताएकी छन् ।

तालिममा प्रशिक्षक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन एकाई गुल्मीका प्रमुख गंगा कुमारी पोखरेल, धुर्कोट गाउँपालिका कृषि अधिकृत दिलिप न्यौपाने, धुर्कोट गाउँपालिका वडा नं. २ का कृषि प्राविधिक मधु कुमार घर्ती र सोही वडाकै कृषि प्राविधिक भावना महतले प्रशिक्षण दिएका थिए ।

तालिमले कृषकको उत्पादन रुचीमा अझै आत्मविश्वास बढाएको र प्राविधिक ज्ञान अझै बढेकोले कृषिको व्यवसायिक सफलता र आत्मनिर्भरमा अघि बढ्न वक्ताहरुले आग्रह गरेका थिए । कार्यक्रममा धुर्कोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष चेतमान कुवँरले तालिमले प्रविधिमय कृषिका लागि कृषकमा नयाँ उर्जा थपेको बताएका थिए ।

करेसाबारीको परिचय, महत्व साथै तरकारीको नर्सरी बनाउने तरिका, माटो उपचार गर्ने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फल तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि, जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा व्यवस्थापन, कटिङ गर्ने तरिका, बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) र सुन्तला जात फलफुलको बगैचामा पुगि सुन्तलाका सुकेका, मरेका, चोर हागा काटछाट गर्ने, सुन्तलाको फेद वरिपरि खनेर मलजल गर्ने, सुन्तलालाई ढुसि नाषक रोगबाट बचाउनको लागि बोर्डोपेस्टको प्रयोग गर्ने, बोर्डो मिश्रण प्रयोग गर्ने, केही समय पछि सुक्ष्म तत्व प्रयोग गर्ने, सुन्तलाको आयु बढाउनको लागि फेदमा तिनपाते बिरुवा रोप्ने र नेचुकी गर्ने, आगामी दिनहरुमा बिजु सुन्तला नलागाइ कलमी सुन्तला लगाउन सिकाइएको थियो ।

प्रशिक्षार्थी कृषक गोमा पोखरेलले तालिम धेरै प्रभावकारी भएको र अब व्यवहारमा लागू गरे मात्र अर्गानिक उत्पादन र माटोको जैविक शक्ति बचाउन सकिने बताइन । तालिमको अवधिमा धेरै प्राविधिक कुरा सिक्न पाएको भन्दै आर्थिक वर्षको बेमौसमी खेतीका लागि पनि कृषक जागरुक भएको उनको भनाइ छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१