
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । सोमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उनले दोस्रो पटक विश्वासको मत पाएका हुन् ।
आजको बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
यसअघि गएको पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।
त्यति बेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिएका हुन् ।