
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मंगलबार एक कार्यक्रममा नाराबाजी गर्ने समूह पक्राउ परेकाे छ ।
महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ पर्नेहरुमा सोम शर्मा, विप्लव खड्कालगायत रहेका छन् ।
प्रधानमन्त्री दाहाल सहभागी भएकाे ५८ औँ जातीय भेदभाव उन्मुलन दिवसमा आयाेजित कार्यक्रममा उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुले ‘बैंककाे ब्याज मिनाहा गर, नागरिक बचाउनुपर्याे’ भन्दै नाराबाजी गरेका हुन् । नाराबाजी गर्नेहरु दुर्गा प्रसाई नेतृत्वकाे नागरिक बचाउ महाअभियानमा पनि संलग्न रहेकाे आशंका गरिएकाे छ ।
पछिल्लाे समय प्रसाईंले सुरु गरेकाे अभियानमा पनि बैंककाे ब्याजदरलगायतका माग समावेश छन् ।
याे समूह अभियान्ताकाे नाममा पटक–पटक नाराबाजी गरिरहेकाे अवस्थामा पक्राउ पर्ने गरेकाे छ । यसअघि गत साउनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा संलग्न कार्यक्रममा पनि नाराबाजी गरेर पक्राउ परेकाे थियाे ।
उनीहरु एमसीसीविरुद्धको आन्दोलनमा पनि सहभागी भएका थिए ।