तिब्बतीयनलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ

काठमाडौं । तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित एक गिरोह पक्राउ परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई ५ जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेका छन् ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीका अनुसार लेखापढीको काम गर्ने कटवालले हालसम्म ५ सयभन्दा बढीलाई त्यसरी नागरिकता दिलाएको बताए ।

उनले न्युल्केस श्रेष्ठले मात्र बाबु बनेर कम्तीमा ५ जनालाई नागरिकता बनाइदिएको पाइएको छ । तीमध्ये ठिन्ले पनि एक हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विगत ९ वर्षेदेखि क्यान्टिन चलाएका लामाले सरकारी कार्यालयभित्रको जिम्मा लिएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार एउटा नक्कली नागरिकता बनाउन ५ लाख रुपैयाँसम्म लिने गरिएको र नक्कली बाबुलाई १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको छ ।

यस्तै, नागरिकता जारी गर्ने कार्यालयमा मिलाएबापत लामाले एक लाख देखि एक लाख ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएकाे छ ।

प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयका पूर्व र बहालवाला कम्तीमा ४ जना कर्मचारीमाथि निगरानी राखेको छ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१