नेहा चौधरीका श्रीमान् पंकजलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

जनकपुरधाम । दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका महोत्तरी रामगोपालपुर नगरपालिका-५ का डा. पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ ।

न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रूपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो । स्रोतका अनुसार उनी आज धरौटी बुझाएर रिहा हुनेछन् ।

श्रीमती नेहा चौधरीले पंकज, उनका बुबा, आमा, बहिनीसहित पाँचजनाविरुद्ध दाइजो र घरेलु हिंसालगायतका मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा पक्राउ परेका पंकज पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पूर्पक्षका लागि जेल गएका थिए ।

पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पूर्पक्षका लागि गत फागुन ३० देखि जलेश्वर कारागारमा छन् । आमा, बहिनी र ज्वाइँ भने घर छाडेर हिँडेका छन् ।

तीन वर्षको प्रेम सम्बन्धपछि २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । नेहाका परिवारले दाईजोसहित विवाहमा एक करोड बढी खर्च गरेको बताएकाे छ ।

तर, विवाहको केही दिनमै दाइजो कम भएको भन्दै पंकजका परिवारले नेहालाई यातना दिएका थिए । पंकजको कुटाइबाट नेहा अस्पतालसमेत भर्ना भइन् । लगत्तै पंकजले डिभोर्स मुद्दा चलाए ।

तर, नेहाले पंकजसँग बस्ने भनेर संघर्ष गरिन् । पंकजले नमानेपछि उनीसहित परिवारका ५ जनामाथि नेहाले मुद्दा हालेकी थिइन् ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७