राहुल गान्धी लोकसभा सदस्य हुन अयोग्य भएको घोषणा

काठमाडाैं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ ।

लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको हो ।

गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए ।

यसअघि बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए ।

एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।

सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१