साढे ५ लाख भेटीसहित पल शाहलाई नागरिक अभिनन्दन, छुनलाई युवायुवतीकाे हाेडबाजी

काठमाडौं । बलात्कारको मुद्दामा सफाइ पाएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका अभिनेता पल शाहलाई भव्य स्वागत र नागरिक अभिनन्दन गरिएको छ ।

दाङको घोराहीस्थित एउटा विशाल मैदानमा आयोजित घोराही ‘वृहत् सांस्कृतिक कार्यक्रम’ मा पललाई हेर्न दशौं हजारको भिड थियो । कार्यक्रममा उनलाई ‘सुपरस्टार’ र ‘रियल हिरो’ भनेर सम्बोधन गरिएको थियो ।

उनलाई दुईवटा सम्मानपत्रसहित नागरिक अभिनन्दन पनि गरियो । अभिनन्दन पत्रमा पलले चलचित्र क्षेत्रमा योगदान दिएर जिल्लाको नाम चम्काएको उल्लेख छ ।

कार्यक्रममा पलले आफू जेल बस्दाको अनुभूति सेयर गरेका थिए । ‘जेलमा छँदा मलाई अब भित्रै सड्छु कि भन्ने डर थियो’ पलले सुनाए, ‘तर तपाईँहरूको आशीर्वादले निस्किन सफल भएँ ।’

कार्यक्रममा उद्घोषकले दर्शकलाई १० पटक ‘पल शाह आइ लभ यू’ भन्न लगाएका थिए । उनी फर्किने बेलामा उनीसँग हात मिलाउन चाहाने युवायुवतीकाे हाेडबाजी नै चलेकाे थियाे ।

तीन दिन चलेको घोराही सांस्कृतिक कार्यक्रममा पहिलो दिन पशुपति शर्मा र दोस्रो दिन प्रमोद खरेल उपस्थित भएका थिए । तेस्रो दिनमा पल शाहलाई लगिएको हो ।

कार्यक्रममा पल शाहलाई कुनै प्रस्तुति दिन लगाइएकाे थिएन। उनले गृह जिल्लाका जनतालाई धन्यवाद दिन मात्रै आफू आएको बताएका थिए ।

तर, उनलाई सो कार्यक्रममा ल्याउन आयोजकले साढे पाँच लाख रुपैयाँ पारिश्रमिक दिएको बुझिएको छ । साथै, कार्यक्रम सशुल्क थियो । पल शाहलाई हेर्न दुई सय रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था गरिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१