केवल सत्ताका लागि उपेन्द्र यादव र सिके राउतको अस्वस्थ प्रतिस्पर्धा (भिडिओसहित)

काठमाडाैं । अहिले राष्ट्रिय तथा मधेसको राजनीतिमा दुई व्यक्ति उपेन्द्र यादव र सिके राउतको लडाई उत्कर्षमा पुगेकाे छ । गत आमनिर्वाचनमा आपसमा भिडेका यादव र सिके आउँदो उपनिर्वाचनमा फेरि आमनेसामने हुँदैछन् ।

यी दुईको टकराव राजनीतिकरुपमा मात्र होइन व्यक्तिगत तहमा समेत झरेको छ । हुँदाहुँदा दुवै पार्टीका नेताहरु एक अर्काविरुद्ध तल्लोस्तरको भाषा प्रयोग गरेर गालीगलौज गर्न थालेका छन् ।

यादव र राउत संघ र प्रदेश सरकारको एउटै गठबन्धनमा छन्, तर यादवको संसद् प्रवेशमा दोस्रोपटक पनि बाधक बन्ने राउतको रणनीति छ । यादव भने ४ मंसिरको हारको बदला लिन ठूला दलसँगको मोर्चाबन्दीमा छन् ।

लेखक एवम विश्लेषक राजेश विद्रोहीका अनुसार यादव र राउत मधेसमा कमजोर शक्ति हुन् । उनीहरु मधेसलाई आफनो वशमा पार्न अनेक हतकण्डा अपनाइरहेका छन् । अहिले आफूलाई मधेसको प्रमुख पात्रकारुपमा देखाउने प्रयास भएपनि वास्तवमा उनीहरुबीचको लडाई सत्ताका लागि हो ।

विद्रोही भन्छन्, ‘मधेसको हक अधिकार, मधेसका माग मुद्दा, मधेसको विभेद र गरिबी अन्त्य, मधेशमा शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था वा समग्र मधेसको मुक्तिका लागि उनीहरुको लडाई होइन । प्रदेशदेखि केन्द्र सत्तामा आफू कसरी स्थापित हुने भन्ने मात्रै उनीहरुको चिन्ता हो ।’

मधेसमा मात्र होइन राष्ट्रिय राजनीतिमा यादव र राउतको महत्व घटेको छ । आफूलाई लोकतान्त्रिक भन्ने लोसपाको अवस्था पनि ठीक छैन । लोसपाका नेताहरु सबै ‘कस्मेटिक’ हुन् । उनीहरु यादव र राउत भन्दा पृथक छैनन् ।

जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बारा २ मा गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्ने र संसद् प्रवेश गर्ने जसपा अध्यक्ष यादवको तयारी छ । तर, ४ मंसिरको निर्वाचनमा यादवलाई हराएका राउत बारा २ मा पनि यादवका लागि बाधक बन्ने रणनीतिमा छन । यो अवस्थामा यादवलाई प्रमुख दलहरुले समर्थन नगरे यादवको सपना चकनाचुर हुने विद्रोहीको बुझाइ छ ।

यादव र राउत मात्र होइन लोसपाका नेताहरुलाई पनि मधेसको मुद्दासँग खासै मतलब छैन । सबैको कार्यक्रम र घोषणापत्र लगभग उस्तै–उस्तै देखिन्छ । आधारभूमि मधेस र मधेसको मुद्दा बोकेर आएका कारण सबैको ‘पोलिटिकल स्पेस’ एउटै हो ।

मधेसका नेताहरुले मधेस केन्द्रीत क्षेत्रिय राजनीति नभइ समग्र देशका लागि राजनीति गनुपर्ने विद्रोही बताउँछन् । अहिले मुलुक गम्भीर संकटमा भएकाले पक्ष बिपक्ष नभनी सबैले मुलुक जोगाउन एकताबद्ध हुनुपर्ने छ ।

मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, कृषि सबै क्षेत्र बरबाद भएकाले यसलाई उठाउन राजनीतिक शक्तिहरु एक ठाउँ उभिनुको विकल्प नभएको बिद्रोही बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१