प्रियंका चोपडाले खुलाइन् आफू बलिउड छाडेर अमेरिका जानुको कारण

काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउड छाडेर अमेरिका जानुको कारण खुलाएकी छन् । उनले हालै डेक्स शेफर्डको पोडकास्टमा आफूले चाहे जस्तो फिल्म नपाएपछि र इन्डस्ट्रीमा राजनीति बढेपछि बलिउड छाडेको बताएकी हुन् ।

‘बलिउडमा मैले काम पाइरहेको थिएँ । तर म खुशी थिइनँ, म यसबारे पहिलो पटक कुरा गर्दैछु किनकि मलाई यसबारे कुरा गर्न असुरक्षित महसुस हुन्थ्यो’, उनले भनिन् ।

उनले बलिउड छाड्नुको कारण भनिन्, ‘मलाई देसी हिट्सकी अञ्जली आचार्यले एक म्युजिक भिडिओ देखाएकी थिइन् । त्यतिबेला म सात खून माफको छायांकन गरिरहेकी थिएँ । अञ्जलीले मलाई अमेरिकामा आफ्नो म्युजिक करियर बनाउन चाहान्छौ भनेर सोधिन् । म त्यतिबेला बलिउडबाट भाग्ने अवसरको खोजीमा थिएँ । मलाई इन्डस्ट्रीले एक कुनामा धकेलिरहेको महसुस भइरहेको थियो । फिल्मकर्मीहरू मलाई कास्ट गर्न छोडिसकेका थिए । मबाट फिल्मकर्मीहरू असन्तुष्ट थिए । म त्यस्तो खेल खेल्न सक्दिन थिएँ । त्यसैले बलिउडको राजनीतिबाट थाकिसकेको थिएँ र म ब्रेक लिन चाहन्थेँ ।’

कामको खोजीमा अमेरिका पुगेकी प्रियंकाले आफ्नो अभिनय करियर छाडेर गीत गाउन सुरू गरेकी थिइन् । तर उनी म्युजिकमा जम्न सकिनन् । उनले पिटबुल फर्रेल विलियम्स र जे जेड जस्ता गायकसँग काम गरिन् । ‘मैले म्युजिकबाट आफूलाई विश्वभर चिनाउने प्रयास गरेँ । म्युजिकमा राम्रो गर्न नसकेपछि अभिनय नै ठिक छ जस्तो लाग्यो,’ उनले भनिन् ।

उनले एबिसीको सिरिज ‘क्वांटिको’ मा काम गरेकी थिइन् । जसले उनलाई विश्वभर चिनायो । हाल प्रियंका अन्तर्राष्ट्रिय फिल्मसँगै शो पनि गरिरहेकी छन् । उनी हलिउड स्पाइ वेब सिरिज ‘सिटाडेल’ र ‘लभ अगेन’ मा देखिनेछिन् । योसहित उनी बलिउड फिल्म ‘जि ले जरा’ मा देखिनेछिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१