
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । कुशवाह वैशाख १० को उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नकै लागि जनमत पार्टी प्रवेश गरेका हुन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कुशवाहलाई जनमत पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले जनमत पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवसँग मात्र तीन सय ५४ मतले पराजित भएका कुशवाह यसपटक जनमत पार्टीबाट उम्मेदवार बन्ने भएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ बाट उठ्ने तयारी गरेका छन् । उपनिर्वाचनपछि उपेन्द्र यादव विजयी भए मधेस प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने सर्तमा कांग्रेसले पनि यादवलाई समर्थन गर्ने भएको छ ।