मेयरको सट्टामा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिँदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन् ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइँ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१