
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सिंहदरबार, बालुवाटार, शीतल निवास र सदनलाई आत्मनिर्भर घोषणा गर्न माग गरेकी छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले आर्थिक वर्ष २०७८–७९ मा ८८ हजार केजी बरारबको टुथपिक र २६ लाख केजीबराबरको ट्वाइलेट पेपर आयता भएको उल्लेख गर्दै राज्यले आत्मनिर्भर हुने प्रयास नै नगरेको बताइन् ।
‘टुथपिक र ट्वाइलेट पेपरमा ४१ करोड बरारबरको पैसा बाहिरिएको छ’, उनले भनिन्, ‘टुथपिकदेखि स्याम्पुसम्म, मोबाइलदेखि कारसम्म ठूलो मात्रामा आयात हुन्छ । हुँदा हुँदा चामलसम्म आयात भइरहेको छ । आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ?’
‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमै बनेको हो ?’, उनले भनिन्, ‘कुर्सीका लागि जुन झगडा हुने गरेको छ, प्रधानमन्त्री सभामुखको कुर्सी कुन देशबाट आएको छ ?’
उनले देशको आर्थिक अवस्था सुधार गर्न योजना ल्याउन पनि आग्रह गरेकी छन् ।
उनले संसदमा प्रयोग हुने सबै सामान नेपाली प्रयोग गर्न पनि आग्रह गरिन् । ‘सिंहदरबार बालुावटार शीतल निवास र सदनको यो क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ’, उनले भनिन्,’यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमसम्म देखि कापीसम्म नेपाली प्रयोग गरौँ ।’