
काठमाडौं । यही चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध यस फिल्मका पूर्व निर्माता केशव पाण्डेले प्रहरीमा चेक बाउन्स र ठगीको उजुरीसँगै केन्द्रीय चलचित्र जाँच समितिमा सेन्सर रोक्न निवेदन दिएपछि फिल्मको प्रदर्शन नै अन्योल बनेको अवस्था छ । प्रदर्शनका लागि अब तीन दिन मात्र बाँकी रहँदा फिल्मको प्रचारको काम समेत हुन सकेको छैन ।
निर्माता सुभाष थापाले फिल्म रिलिजको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।
‘प्रसाद २’ निर्माणको क्रममै पटकपटक विभिन्न अवरोध आए , यी अवरोध छिचोल्दै फिल्म निर्माण सम्पन्न गरी माघमै रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघपछिको भाखामा तिर्ने वचनबद्धता प्रकट गरेँ । तर समयमा रिलिज हुन नसक्दा मेरो वचनबद्धतामा म चुकेँ । तथापि अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा फिल्म प्रदर्शनमा सहयोगको लागि सबैमा आग्रह गर्दछु,’ उनले भनेका छन् ।
उनले फिल्म रिलिजपछि सबैको पैसा तिर्ने बताउँदै लेखेका छन्, ‘मेरो नियत खराब हैन, नियतिको कारण मैले वचन पूरा गर्न नसकेको हो । फिल्म रिलिजपछि सबै रकम तिरेर आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सबै फिल्मसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिई बाँकी रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ ।’
प्राविधिकदेखि कलाकारसम्मको पैसा नतिरेपछि निर्माता सुवास थापाविरूद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको छ । बोर्डका अध्यक्ष भुवन केसीका अनुसार आज सोमबार दुवै पक्षबीच छलफल कार्यक्रम राखिएको छ ।