काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै दायर भएको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतमा सोमबार दर्ता भएको रिटमा मंगलबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।
सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो ।
रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ । उनीविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो ।
यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए ।
मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए ।
रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए । अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए ।
उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए । लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका थिए ।
नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरे पश्चात नेपाली नागरिक कायम नहुने ब्याख्या भएको निवेदनमा उल्लेख छ ।