
काठमाडौं । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ। नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा अस्ट्रेलियाका विभिन्न ८ सहरमा ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो ।
ब्याण्ड व्यवस्थापक बबी लामाले १० वर्षपछि अष्ट्रेलियाली नेपाली डायस्पोरामा कन्सर्ट गर्न लागेको जानकारी दिए ।
‘पुराना तथा नयाँ गीतलाई दर्शकसामु प्रस्तुत गर्न एकदम आतुर छौं,’ उनले भने । सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक राजु लामा हुन । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको, रिदम गिटारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गिटारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
दोस्रो सांगीतिक प्रस्तुति १३ तारिखमा ब्रिसबेन, १५ मा सिड्नी, १६ मा क्यानबेरा, २३ मामा डार्विन र पर्थ, २९ मा होबर्ट र ३० मा एडिलेडमा ‘मंगोलियन हर्ट’ गुन्जिने छ । ‘मंगोलियन हर्ट’को प्रस्तुतिको लागि उत्साहित रहेको नेपाल टच अष्ट्रेलियाका सीईओ दीपेश पुनले बताए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पुनले जानकारी दिए ।
ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा । ‘१० वर्षपछि अस्ट्रेलियामा मंगोलिन हार्टसहित ‘ज्यो ज्यो’ जाँदै छ,’लामाले भने, ‘ब्यान्डका पुराना र केही नयाँ गीत हामी त्यहाँ प्रस्तुत गर्नेछौँ । हामी अस्ट्रेलियासँगको हाम्रो पुरानो सांगीतिक सम्बन्ध फेरि रिन्यु गर्न पाउँदा साह्रै उत्साही छौँ ।’ ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन् ।