काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि थप विवादमा तानिएका छन् । अडियो बाहिर आएपछि पार्टीले सांसद श्रेष्ठलाई कारबाही गर्ने भएको छ ।
उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन पनि दिइसकेकाे पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यसअघि, रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठकाे नाम चर्चामा थियाे । रास्वपाले स्वास्थ्य मन्त्रालयको जिम्मा पाउने भएपछि मेडिकल व्यवसायी प्रसाईंलाई फोन गरेर श्रेष्ठले २ करोड सहयोग मागेका छन् ।
बाहिर आएकाे अडियोमा सांसद श्रेष्ठ र व्यवसायी प्रसाईंबीच पैसा लेनदेनका लागि कुराकानी भएको छ । प्रसाईंसँगको फोन संवादमा सांसद श्रेष्ठले आफूसहित केही कोर टिमका मानिसलाई अढाइ करोड बुझाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेका छन् ।
प्रसाईंले पनि आफूले २ करोड दिने बताएका छन् । प्रसाईंले आफू गोविन्द केसीभन्दा बढी स्वास्थ्य क्षेत्रमा भिडेको बताएका छन् । उनले श्रेष्ठलाई आइडिया पनि दिने उक्त अडियाे संवादमा बताएका छन् ।
यस्ताे छ प्रसाईं र श्रेष्ठबीच भएकाे कुराकानी :
प्रसाईं : खासमा कुरा के हो, डाक्टर सा’प, मलाई भन्नु त ?
श्रेष्ठ : स्वास्थ्य हामीले पाउने भयौँ । कोर टिम छ । पार्टीलाई अलिकति सहयोग गर भनेका छन् । मेरो पक्का भयो । मैले आज फिक्स पनि गर्नु छ । म आर्थिकमा साह्रै छैन । मन्त्री पनि बन्नुपर्यो । स्वास्थ्य क्षेत्र सुधार पनि गर्नुपर्यो । यसमा तपाईंहरूको सहयोग चाहिन्छ ।
प्रसाईं : मैले तपाईंलाई एउटा कुरा बुझ्न खोजेको रास्वपामा डाक्टर भनेको तोसिमा कार्की मात्र हुन् भन्ने थियो । कति जना डाक्टर हुनुहुन्छ । तपाईंको घर कता हो ?
श्रेष्ठ : म भएँ, तोसिमा हुनुभयो र चन्दा कार्की ।
प्रसाईं : ए ए साँच्चै, चन्दा म्याम पनि हुनुहुन्छ ।
श्रेष्ठ : चन्दा म्यामलाई तपाईंले पनि चिन्नुहुन्छ ।
प्रसाईं : डाक्टर सा’पको घर कता हो ?
श्रेष्ठ : पोखरा हो ।
प्रसाईं : ए ए, कता पढ्नुभएको हो ?
श्रेष्ठ : चाइना पढेको, दाआल युनिभर्सिटी
प्रसाईं : एमडी ?
श्रेष्ठ: एमडी गरेको छैन । एमएस मात्र हो । एमडी पढ्ने भन्दाभन्दै पोलिटिक्समा आएँ ।
प्रसाईं : अब हेर्नुहोस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा । नर्सिङ कलेज बन्द गरे । चेलिबेटी नर्स पढ्न पाउँदैनन् । मैले जहिले पनि भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलिबेटीहरूले डान्स गर्नुभन्दा नर्स पठाऊँ । डाक्टर उत्पादन गरौँ । सयवटा मेडिकल कलेज खोलौँ । कति राम्रो कुरा गरेको छु मैले । हस्पिटल खोलौँ । हस्पिटल फ्री गरौँ । कति राम्रो कुरा गरेको मैले । डाक्टर सा’पको नाम ढाकाबहादुर के हो ?
श्रेष्ठ : ढाकाकुमार श्रेष्ठ
प्रसाईं : अच्छा, मैले त्यो कुरा बुझेँ । सल्लाह गरेर अगाडि बढौँला । मैले एउटा कुरा भन्न खोजेको । ह्वाट्सएपमा छौँ, मतलब भएन । मुकुलहरूले त स्वास्थ्य र शिक्षा नलिने भन्थे त ?
श्रेष्ठ : स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यत्ति थाहा छैन । आन्तरिक कुरा हो । उहाँ कोर टिममा हुनुहुन्न । महामन्त्री नै हो । तपाईंलाई आन्तरिक कुरा गर्नुपर्दा हो । दुई-तीन जना छुट्टै हुनुहुन्छ । पार्टीलाई छुट्टै सहयोग गर्ने, रविजीलाई पहिलादेखि नै सहयोग गर्ने । त्यो टिमबाट मलाई पुर्याएको । आज मैले फिक्स गर्नुपर्छ । उधारो हुन्न भन्छन् फेरि ।
प्रसाईं : क्यास अढाइ करोडको कुरो आयो, दुई करोड ?
श्रेष्ठ : दुई साढे दुई भनेका छन् । आज एक दिएँ भने पनि मान्छन् होला ।
प्रसाईं : आज बन्द छ । सुन्नोस् है कुरा । बैंकबाट ९ लाख ९९ हजारभन्दा बढीको चेक साटिँदैन । सुन्नोस् कुरा । एक टाइम राखेमा म दिन्छु । तपाईंले भनिहाल्नुभयो, म सहयोग गर्छु । मलाई पनि सहयोग गर्नुपर्छ ।
श्रेष्ठ : म गर्छु । मलाई त दिक्क लाग्छ । यो गोविन्द केसी देखेर कहिले मर्छजस्तो लाग्छ । एमबीबीएस पढ्न नपाएको उसकै कारण हो ।
प्रसाईं : मेरो छोरीलाई जापान टोकियो युनिभर्सिटी पढाउनुपर्यो । ३ करोड तिरेर एमडी गर्नलाई । आफ्नोमा रेडियोलोजी पढाउन पाइनँ ।
श्रेष्ठ : त्यही त । सबै बेथिति छ ।
प्रसाईं : म त मरेको छु । मेरो मेडिकल कलेज हेर्नु त ? सबै भौतिक पूर्वाधार पुगेको काठमाडौंबाहिर मेचीमा ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नु त म त मर्न मात्र बाँकी छु ।
श्रेष्ठ : त्यही त यसलाई हटाउनुपर्छ । यो पनि समस्या समाधान गर्नुपर्छ ।
प्रसाईं : शिक्षा कसले लिन्छ भाइ ?
श्रेष्ठ : यहाँ फोन आएको रहेछ । हजुर सर ।
प्रसाईं : शिक्षा कसले लिने भयो डाक्टर सा’प ? शिक्षा हामीलाई परेनजस्तो छ सर । शिक्षा हजुरबुबाले राख्यो होला । योपालि मलाई पनि एफिलेसन दिनुपर्नेछ हजुरबुबाले । काठमाडौं युनिभर्सिटीले तपाईंका एफिलेसन दिएको छ । सिट मात्र दिएको छैन । त्यो गिरी नारायणकाजीको मान्छे हो । पैसा उठाएर नारायणकाजीलाई दिने मान्छे हो । ल यसो गर्नुहोस् न त ।
श्रेष्ठ : हजुर निश्चिन्त हुनुहोस् । मिलेर काम गर्नुपर्छ, तपाईं र म ।
प्रसाईं : एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । म हजुरबुबासँगै काठमाडौं आउँछु । तपाईं र म भेटौँला । म गर्छु के । तपाईंले भनेको दुई म आएर गरौँला । अलिकति टाइम लाग्छ । पैसा मिलाएर निकाल्नुपर्छ । बैंकले पूरै सिस्टम खोज्छ । भ्वाक-भ्वाक बाकसमा पैसा लिएर गाह्रो छ । आजको आज नेपालमा कसैले पैसा दिन सक्दैन ।
श्रेष्ठ : त्यही त समस्या छ त ।
प्रसाईं : हिजो पुस मसान्त, बैंकको ब्याज बुझाएँ ।
श्रेष्ठ : तपाईंलाई पनि गाह्रो छ । विचरा ।
प्रसाईं : गाह्रो छ नि । हिजो पुस मसान्तमा ब्याज बुझाएँ । स्वास्थ्य बीमाको १५ करोड अढाइ वर्षदेखि दिएको छैन ।
श्रेष्ठ : बीमा पनि १२ अर्बको लगानी हुँदोरहेछ । बीमा पनि सबैमा लागू गर्नुपर्छ ।
प्रसाईं : बीमा कसरी लागू गर्ने म भनिदिन्छु तपाईंलाई । तपाईं के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले २ करोड दिने भए तपाईंलाई । यो पैसा तपाईंले पनि भोलि-पर्सि रविलाई त दिने होला ?
श्रेष्ठ : अँ मैले रवि सरलाई भन्दा पनि रवि सर देखापर्नुभएको छैन । बाहिरका दुई-तीन जना साथीहरू हुनुहुन्छ । पार्टीमा जान्छ भनेका छन् ।
प्रसाईं : यी सबै कमाउने त हुन् भाइ ।
श्रेष्ठ : पार्टीमा जान्छ कि जाँदैन, मलाई थाहा छैन । मैले सोचेको छैन । पार्टी कमजोर छ । सुरुवाती छ भनेका छन् । साह्रै गाह्रो भएको छ भनेका छन् ।
प्रसाईं : ल सर ठीकै छ । म एक-दुई दिनमा आउँछु । दाजुभाइ भेटौँला नि । म दिन्छु भनेर ग्यारेन्टी गर्नुहोस् । मलाई अलिकति टाइम चाहियो भन्नुहोस् ।
श्रेष्ठ : म त्यही कुरा गर्छु । हजुर भोलि आउनुहुन्छ ?
प्रसाईं : हजुरबुबा आउने भएर बसेको हुँ । भोलि आउँछु । है डाक्टर सा’प ।
श्रेष्ठ : हस् हस् ।
प्रसाईं : हस् । तपाईंलाई मैले २ करोड दिन्छु । तपाईंलाई सजिलो बाटो देखाइदिन्छु ।
पैसासँग जाेडिएकाे उनकाे विवाद यतिमात्र हाेइन । अर्को विवाद गृह जिल्ला पोखरामा पनि छ । उनी सञ्चालक रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडले केही महिनायता बचतकर्ताहरूको पैसा फिर्ता गरिरहेको छैन ।
सांसद श्रेष्ठले खोलेको पोखरा महानगरपालिका-७, रत्नचोकस्थित सहकारीका बचतकर्ता आफ्नो पैसा उठाउनका लागि प्रशासन धाउन थालेका छन् । आफैँले बचत गरेको रकम फिर्ता नपाउँदा उनीहरूले महानगरलाई समेत गुहारेका थिए ।
गएकाे पुसको अन्तिम साता बचतकर्ताहरु महानगर गएर उजुरी दिएपछि महानगरले ३ महिनाभित्र रकम तिर्न सहकारीलाई निर्देशन पनि दिएको थियो । सहकारीले पनि वैशाखसम्म बचतकर्ताको रकम फिर्ता गर्ने बताए पनि अहिले सहकारी बन्द छ ।
श्रेष्ठले सहकारीकाे नेतृत्व शनि पाठकलाई दिएर उनी राजनीतिमा हाेमिएका थिए । कात्तिक ९ मा बसेको संस्थाको अधिवेशनमा श्रेष्ठले पाठकलाई सहकारीको नेतृत्व सुम्पिएका थिए । तर हिसाबकिताबको यकिन तथ्यांक नभएपछि नयाँ नेतृत्वले काम गर्न सकेन ।
सहकारीमा श्रेष्ठ अध्यक्ष रहँदा बचतकर्ताको रकम आफ्नाे व्यवसायमा लगेर फसाएको आरोप पनि उनीमाथि छ । श्रेष्ठले पोखरा लेकसाइडमा एक मिनी मार्केटका लागि सहकारीबाट ४ लाख रुपैयाँ लगेको उनका सहकर्मीहरु बताउँछन् ।
सहकारीमा चार महिनायता कुनै काराेबार भएकाे छैन । सहकारीमा हाल १ सय ५ जना सेयर सदस्य छन् । बचत रकम ८२ लाख ७२ हजार रुपैयाँ छ । सहकारीमा रकम जम्मा गराएका बचतकर्ता अहिले आजित छन् ।